बिभिन्न पेशा तथा व्यवसायमा जापानका विभिन्न प्रान्त, क्षेत्र र शहरहरुमा कार्यरत नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई यस राजदूतावासबाट हुने प्रशासनिक कार्यप्रणाली, प्रक्रिया र कार्यक्रमहरुका सम्बन्धमा सुसूचित गराउने उद्धेश्यले यो सार्वजनिक सूचना जारी गरिएको छ ।
राहदानी तथा कन्सुलरसम्वन्धी व्यवस्था
- साधारण नेपाली राहदानी प्राप्त गर्न जापानी येन ९,५०० (नौ हजार पांच ) मात्र बुझाउनु पर्नेछ । नेपाली राहदानीकालागि यसबाहेक अन्य कुनै थप शुल्क लाग्ने छैन ।
- राहदानी प्राप्त गर्नकालागि राहदानी आवेदन फाराम एक सहित नागरिकताको सक्कल प्रमाणपत्र, पुरानो ( वर्तमान) राहदानी र दुई प्रति हालसालै खिचिएको पासपोर्ट साइजको तस्वीर पठाउनु पर्नेछ ।
- राहदानी फिर्ता पठाउनकालागि हुलाकटिकटसहितको नाम र ठेगाना स्पष्ट उल्लेख भएको खाम पठाउनु पर्नेछ ।
- रीतपूर्वकको कागजातसहित राहदानीका आवेदन फाराम राजदूतावासमा प्राप्त भएको मितिले ७२ घण्टा (तीन दिन) भित्र राहदानी प्रेषण गरिने छ ।
- राहदानीको आवेदन फाराममा कुनै कागजात नपुग भएमा तीनदिन भित्र सोको जानकारी गराइनेछ ।
- विरामी, बृद्ध, महिला, अपाङ्ग र विद्यार्थीहरु र अति जरुरी परेको कुरा राजदूतावासले ठहर गरेका अन्यलाई समेत २४ घण्टा -एक दिन) भित्र राहदानी वा ट्राभल डकुमेण्ट जारी गर्न सकिनेछ ।
- सामान्यतया तीन दिन भित्र र आपतकालीन अवस्था वा विशेष परिस्थितिमा एकै दिनमा राहदानी प्रदान गर्ने व्यवस्था भएकोले राहदानीकालागि अन्य व्यक्ति वा संघसंस्थाद्वारा कुनै किसिमको अनुरोध वा आग्रह आवश्यक पर्ने छैन ।
- नेपाल सरकारका कुनै पनि कार्यालय, अड्डा, अदालत वा निकायमा पेश गरिने अख्तियारनामा (अधिकृत वारेसनामा) को कागजात प्रमाणीकरणकालागि आवेदन दिन आउंदा आवेदक स्वयं नै अनिवार्यरुपमा उपस्थित हुनुपर्ने छ ।
- अधिकृत वारेसनामा प्रमाणीकरणको लागि दस्तुर जापानी येन ३००० (तीन हजार) मात्र लाग्नेछ ।
- अधिकृत वारेसनामा प्रमाणीकरण महामहिम राजदूतज्यू वा नियोग प्रमुखबाट मात्र हुने भएकोले राजदूतावासमा आवेदन बुझाउन आउंदा अग्रिम समय -एपोइन्टमेण्ट) लिनु पर्ने छ ।
अधिकृत वारेसनामाकालागि निम्न कागजातहरु पेश गर्नु आवश्यक छ :
- कानून व्यवसायीद्वारा नेपाली कागजमा रीतपूर्बक तयार गरि प्रमाणपत्र नम्वरसमेत उल्लेख भै सहिछाप भएको हुन पर्ने ।
- बिक्री वितरण वा नामसारी गर्न लागिएको घर जग्गाको लालपर्ूजा वा अन्य कागजातको प्रतिलिपि ।
- अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र सक्कल राहदानी र अधिकृत वारेसनमा लिने व्यक्तिको नागरिकताको प्रतिलिपि ।
- अधिकृत वारेसनामा लिने दिने दुवैको हालसालै खिचिएको तस्वीर २र२ प्रति ।
- आवश्यकता अनुसार नाता प्रमाणित, मृत्यु दर्ता, हकवाला आदिको कागजात ।
- अधिकृत वारेसनामामा दुइ जना साक्षीको नाम, ठेगाना र सहीछापसमेत हुन पर्ने ।
- १६ वर्षनपुगेका तर पढाइ वा अन्य कारणबाट स्वदेश फर्किन वा अन्य मुलुकमा जानु पर्ने नावालकहरुकोलाई छुट्टै राहदानीकालागि आवेदन गर्न सकिनेछ ।
- सामान्यतया ५ वर्षउमेर नपुगेका नावालकहरुलाइ छुट्टै राहदानी प्रदान गरिनेछैन ।
- १६ वर्षमुनिका वालकहरुको राहदानीकालागि आवेदन गर्दा बाबुको नागरिकता नम्वरसमेत उल्लेख भएको नावालक परिचय पत्र, बाबुको राहदानी र नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।
- नावालकको तस्वीर तथा विवरण आमा वा बाबुको राहदानीमा समावेश गर्नकालागि निम्न कागजात प्रेषण गर्नु पर्नेछ ।
क. आमा र बावु दुबैको सक्कल राहदानी
ख. विवाह दर्ता प्रमाणपत्र
ग. आमा र बाबुको नागरिकताको प्रमाण पत्र
घ. नावालकको जन्म दर्ता प्रमाण पत्र र दुइ थान तस्वीर।
ङ. यस कार्यकोलागि येन ३००० -तीन हजार)दस्तुर लाग्ने छ ।
- राजदूतावासबाट प्रमाणित गर्न पर्ने विभिन्न प्रकारका प्रमाणपत्र जस्तै, अविवाहित, विवाहित, जन्म दर्ता, मृत्यु दर्ता आदि कागजातमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयबाट प्रमाणीत गरेको हुनु पर्नेछ ।
- यस्ता कागजात प्रमाणीकरणकालागि येन ३००० (तीन हजार) दस्तुर लाग्नेछ ।
- प्रमाणीकरण समान्यतया एक दिन -२४ धण्टा) भित्र सम्पन्न गरिनेछ ।
- राजदूतावासले बुझेको कुनै पनि दस्तुरको विल उपलव्ध गराइने छ ।
राजदूतावासमा संचारसर्म्पर्क वा भेटघाटका सम्वन्धमा
- नेपाली नागरिकलाई पर्ने कुनै पनि किसिमको कार्य वा समस्याकालागि राजदूतावासमा जानकारी गराउन गरिनेछ ।
- त्यस्तो जानकारी टेलिफोन, इमेल वा फ्याक्सबाट उपलव्ध गराउन सकिनेछ।
- त्यस्तो टेलिफोन, इमेल वा फ्याक्सबाट प्राप्त सूचना वा जानकारीको यथासम्भव २४ घण्टा भित्र जवाफ गरिनेछ ।
- त्यस्तो किसिमको जानकारी अत्यन्त जरुरी वा इमर्जेन्सी प्रकृतिको भएमा तत्कालै सर्म्पर्क गरिने छ ।
- महामहिम राजदूतज्यू वा राजदूतावासका कुटनैतिक पदाधिकारीहरुसंग भेटघाट गर्न सामान्यतया अग्रिम समय लिनुपर्नेछ।
- तर, कुनै अत्यन्त जरुरी वा जटिल समस्याका सम्वन्धमा तुरुन्त सर्म्पर्क वा भेटघाट गर्न सकिनेछ।
- विशेष परिस्थिति वा आपतकालीन अवस्थामा बाहेक सरकारी काम वा कागजातका सम्वन्धमा सामान्यतया महामहिम राजदूतज्यू वा राजदूतावासका कुटनैतिक पदाधिकारीहरुसंग संचार सर्म्पर्क स्वीकार्य हुनेछैन ।
विदेशीहरुलाई प्रदान हुने पर्यटक भिसासम्वन्धमा
टोकियोस्थित नेपाली राजदूतावास तथा ओसाका र फुकुओकास्थित बाणिज्यदूतावासबाट विदेशी पर्यटकहरुलाई निम्न प्रकारका भिसा जारी गर्न सक्ने छ ।
- १५ दिने, ३० दिने र ९० दिने वहुप्रवेशात्मक पर्यटक भिसा ।
- १५ दिने भिसाकोलागि ३००० येन, ३० दिने भिसाकोलागि ५००० येन र ९० दिने भिसाकोलागि १२,००० येन दस्तुर लाग्ने छ ।
- भिसाकोलागि आवेदन प्राप्त भएको मितिले सामान्यत ४८ घण्टा भित्र भिसा जारी गरिने छ ।
- भिसाकोलागि आवेदन स्वयं उपस्थित भई, ट्राभल एजेन्सी मार्फत वा हुलाक मार्फत समेत पठाउन सकिनेछ । हुलाक मार्फत पठाउदां फिर्ताकोलागि ठेगानासहित नाम र हुलाक टिकट समेत समावेस हुनु पर्नेछ ।
- एक पटक भिसा जारी गरिसकेको स्थितिमा रद्ध हुने छैन ।
संघसंस्थाका कार्यक्रमहरुका सम्वन्धमा
- जापानमा कार्यरत नेपालीहरुद्वारा संगठित र सामूहिक रुपमा संचालित संघ संस्था, संगठन र समाजका महत्वपूर्ण कार्यक्रमहरुमा महामहिम राजदूतज्यू वा राजदूतावासका पदाधिकारीहरुलाई उपस्थितिकालागि आमन्त्रण गर्न सकिनेछ ।
- उक्त कार्यक्रमहरुमा राजदूतावासले यथासम्भव सहभागिता जनाउने छ । तर कार्यक्रम टोकियो बाहिर हुने अवस्थामा कम्तीमा एक महीना अघि लिखित अनुरोध गर्नुपर्नेछ ।
- कुनै पनि संघ संस्था, संगठन वा समाजले महामहिम राजदूत वा राजदूतावासका पदाधिकारीको संरक्षक, सल्लाहकार वा कुनै पदमा नाम राख्नु अघि अनिवार्यरुपमा अग्रिम अनुमति लिनुपर्नेछ ।
- कुनै पनि कार्यक्रममा राजदूतावास वा महामहिम राजदूतज्यू वा कुनै पदाधिकारीको नाम सहयोगी वा आयोजक वा प्रायोजक का रुपमा राख्नु अधि राजदूतावासको अनिवार्यरुपमा अग्रिम अनुमति लिनुपर्नेछ ।
- कुनै पनि संघ संस्था, संगठन वा समाजको लेटरप्याडमा पूर्वस्वीकृतिविना राजदूतावास वा राजदूतज्यूको नाम प्रयोग गर्न वा उल्लेख गर्न पाइनेछैन । कुनै महोत्सव वा र्सार्वजनिक महत्वको कार्यक्रमको आयोजना गर्न गठित समितिको लेटरप्याडमा नाम प्रयोग गर्न समेत राजदूतावासको अनिवार्य अग्रिम अनुमति लिनुपर्नेछ ।
विद्यार्थीहरुका सम्वन्धमा
- जापानका कुनै पनि शहरमा अध्ययनरत विद्यार्थीहरुको राजदूतावासले अभिलेख राख्ने कार्य आरम्भ गरिसकेको छ । त्यसकालागि सम्वन्धित विद्यार्थी वा विद्यार्थीसंग सम्वन्धित संघसंस्थाहरुले राजदूतावासले तयार गरेको व्यक्तिगत विवरण फाराम भरी राजदूतावासमा प्रेषण गर्न सक्नेछन् ।
- विद्यार्थीहरुको राहदानी वा शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रमाणीकरण कार्य स्वयम् विद्यार्थी उपस्थित भएमा सोही दिन -२४ घण्टा भित्र)उपलव्ध गराइनेछ ।
- जापानमा अध्ययनरत विद्यार्थीहरुलाई कुनै व्यक्तिगत वा सामूहिक समस्या परेमा राजदूतावासमा सीधा संचार सर्म्पर्क गर्न सकिनेछ ।
- राजदूतावासले यसै वर्षेखि लागु हुनेगरी हरेक वर्षअप्रिल र सेप्टेम्वर महीनामा जापानका कुनै पनि विश्वविद्यालयबाट स्नातकोत्तर गरेका वा विद्यावारिधि वा पोष्ट डक्टरेट गरेका नेपाली विद्यार्थीहरुको सम्मानमा एक सम्मान कार्यक्रमको आयोजना गर्नेछ । सोकालागि सम्वन्धित विद्यार्थी स्वयंले वा विद्यार्थीसंग सम्वन्धित संस्थाले नाम, ठेगाना र शैक्षिक योग्यता लगायतको विवरण उपलव्ध गराउनु पर्नेछ ।
व्यक्तिगत विवरण फारामका सम्वन्धमा
राजदूतावासले नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न भएको ऐतिहासिक दिन २०६४ चैत्र २८ गते तदनुसार १० अप्रिल २००८ बाट जापानमा विभिन्न पेशा र व्यवसाय गरी बस्नुभएका नेपालीहरुको व्यक्तिगत विवरण फाराम भर्ने भराउने कार्य प्रारम्भ गरेको छ । उक्त व्यक्तिगत विवरण फाराम राजदूतावासको अभिलेखमा रहने र सो नेपालीहरुका हकहितकालागि नेपाली राजदूतावास वा नेपाल सरकारले मात्र प्रयोग गर्नेछ । यो व्यक्तिगत विवरण फाराम स्वेच्छिक हो । स्वेच्छिक भए पनि जापानमा रहनु भएका हरेक नेपालीले यो फाराम भर्नु र भर्न प्रेरित गरी नेपाल सरकार र नेपाली राजदूतावासको कार्य सन्चालनमा सहयोग पुर्याउनु जापानस्थित नेपालीहरुको कर्तव्य हो भन्ने हामीले ठानेका छौं ।
अवैतनिक नेपाली वाणिज्यदूतावाससम्वन्धमा
नेपाली राजदूतावास, टोकियो अर्न्तर्गत जापानका दुई प्रसिद्ध शहरहरु ओसाका र फुकुओकामा नेपाल सरकारका दुई नेपाली अवैतनिक वाणिज्यदूतावास रहेका छन् । ओसाकाको अवैतनिक महावाणिज्यदूतका रुपमा श्री कुनीओ ईमानीसी ( Honorary Consul General Mr. Kuio Imainishi र फुकुओकाको अवैतनिक वाणिज्यदूतका रुपमा श्री मिच्चुहिको सिनोखुमा (Honorary Consul Mr.Mitsuhiko Sinokuma ) रहनु भएको छ । सम्वन्धित क्षेत्रमा नेपालको वाणिज्य, व्यापार, पर्यटन र शिक्षाको विकासमा योगदान पुर्याउने उद्धेश्यले ती दुई शहरमा अवैतनिक नेपाली वाणिज्यदूतावासको स्थापना गरी उहांहरु दुई जनालाई नियुक्त गरिएको हो । यस वाहेक नेपाल र जापानी जनतावीच जनस्तरको सर्म्पर्क अभिवृद्धि गर्ने र नेपालको आर्थिक र सामाजिक विकासमा आआफ्ना क्षेत्रबाट योगदान गर्नु पनि उहांहरुको कर्तव्य रहेको छ । साथै, ती क्षेत्रहरुमा रहेबसेका नेपाली नागरिकहरुको संरक्षण, हित र कल्याण गर्ने दायित्व पनि उहांहरुलाई सुम्पिएको छ । तर्सथ, ओसाका र फुकुओका क्षेत्रमा विभिन्न पेशा र व्यवसाय गरी बस्नुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कुनै समस्या वा आपत्ति आइपरेमा उहांहरुको सल्लाह र सहयोग लिन सकिने व्यहोरा पनि अनुरोध गरिएको छ । तर त्यस क्षेत्रमा रहनुहुने दिदीबहिनी तथा दाजुभाइहरुले पनि अन्य क्षेत्र र शहरहरुमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुले झै राजदूतावासमा सीधै सम्वाद र सर्म्पर्क गर्न सक्नुहुनेछ ।
राजदूतावासको वेभसाइट र न्यूजलेटर प्रकाशनसम्वन्धमा
नेपाली राजदूतावासले आफ्नो वेभसाइट www. nepalembassyjapan.org निरन्तर अद्यावधिक (अपडेट) गरिरहेको छ र यसलाई अझ बढी उपयोगी, समसामयिक र सूचनामूलक बनाउन यहांहरुबाट प्राप्त हुने राय, सुझाव र सल्लाहको नेपाली राजदूतावास सदैव स्वागत गर्दछ ।
यसै वर्षेखि नेपाली राजदूतावासले नेपालको सांस्कृतिक, भौगोलिक, प्राकृतिक एवं ऐतिहासिक महत्वका सम्पदा एवं राजनैतिक, आर्थिक र प्रशासनिक विकासबारे जानकारी गराउने उद्धेश्यले अंग्रेजी र जापानी भाषामा अर्धवाषिर्क मुखपत्र प्रकाशन गर्नेछ । यस प्रकाशनलाई नेपाल र नेपालीलाई माया, सहयोग, र शुभेच्छा राख्ने वढीभन्दा वढी जापानी जनता र जापानी संघसंस्थासमक्ष पुर्याउने नेपाली राजदूतावासको संकल्प र सत्प्रयासलाई र्सार्थक र सफल बनाउन सबैबाट सहयोग प्राप्त हुनेछ भन्ने कुरामा राजदूतावास विश्वस्त रहेको छ ।
|