| होक्काईडोमा पर्यटन प्रवर्द्धन कार्यक्रम Posted on: Sat 11-July-2009 |
नेपाली राजदूतावास, टोकियोको आयोजनामा होक्काइडोको प्रमुख शहर साप्पारोमा यही जुलाई ११ तारिखका दिन नेपालको पर्यटन प्रवर्द्धनात्मक सम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न भयो
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै राजदूत महामहिम डा. गणेश योन्जन तामाङ्गले भौगोलिक रुपमा भिन्न भए पनि सामाजिक, धार्मिक र सांस्कृतिक रुपमा सामीप्यता राख्ने नेपाल र जापान वीचको सरकारी सम्बन्ध आरम्भ हुनुभन्दा झण्डै छ दशकअघिनै जनस्तरमा सम्बन्ध सुरु भइसकेको थियो भन्नु भयो । महासागरको वीचमा मूल्यवान मोतीझैं रहेको जापान र हिमालयका काखमा सुन्दर फूलझैं रहेको दुई राष्ट्रबीचको सम्बन्ध घनिष्ठ र सुमधुर रहेको छ भन्नुहुंदै महामहिम डा. तामाङ्गले नेपाल प्रकृति र संस्कृतिको एउटा सुन्दर र रोमाञ्चक सङ्गम हो भन्ने धारणा व्यक्त गर्नु भयो । विश्वलाई शान्ति, अहिंसा, सह-अस्तित्व र मानवताको सन्देश प्रवाहित गर्नुहुने भगवान गौतम बुद्धले नेपालको पवित्र भूमि लुम्विनीमा जन्म लिनु भएकाले नेपाल संसारकै महान् तर्ीथस्थलका रुपमा स्थापित र सम्मानित राष्ट्र भएको छ भन्नु हुंदै महामहिम नेपाली राजदूतले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत उच्च हिमशिखरहरु, हजारौं प्राकृतिक नदी, झर्ना र तालतलैया भएको मुलुक नेपाल विश्वको एक लोकप्रिय, आकर्ष र प्रमुख पर्यटन केन्द्रका रुपमा विकसित भइरहेको छ भन्नु भयो । कार्यक्रममा होक्काईडो गभर्नरका प्रतिनिधिका रुपमा महानिर्देशक श्री Tatsuo Shibata ले नेपाल र जापानवीचको सम्बन्ध सरकारीस्तरमा मात्र सीमित नरहेर जनस्तरमा पनि विकसित भइरहेको छ भन्नुहुंदै होक्काइडो प्रान्तवाट हजारौं जापानीहरु वर्षोनी नेपाल भ्रमणमा जानु यसको ज्वलन्त प्रमाण हो भन्नुभयो । सामाजिक, धार्मिक र सांस्कृतिक समानता एवं शान्ति र अहिंसाप्रतिको प्रतिवद्धता नेपाली र जापानी जनताका विशेषता हुन् भन्नुहुंदै श्री Shibata नेपालका प्राकृतिक, सांस्कृतिक र धार्मिक स्थलहरुको परिचय र विशेषता झल्काउने यस्ता कार्यक्रमहरुले जापानी जनताहरुमा नेपाल र नेपालीप्रति आकर्षा र सद्भावना पैदा गर्ने महत्वपूर्ण कदम हुनसक्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा श्री Shibata ले टोष्ट प्रस्ताव गर्नुहुंदै नेपाल मिलनसार, सहिष्णु, आतिथ्यता र आत्मीयताले भरिपूर्ण नेपाली जनताहरुको पवित्र भूमि हो र प्रकृति, पर्व एवं परम्पराहरुले यो देशलाई आकर्ष र जीवन्त बनाएको छ भन्ने भावना व्यक्त गर्नुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथा र वुद्धको पवित्र जन्मस्थल लुम्विनीलगायत विश्व सम्पदामा सूचीकृत सात सांस्कृतिकस्थलहरु भएको नेपाल पदयात्रा र पर्वतारोहणकालागि पनि प्रसिद्ध छ भन्नुभयो । श्री Shibata ले शान्ति, आनन्द र प्राकृतिक दृश्यावलोकनका लागि नेपाल अनुपम भूमि हो भन्नुभयो । कार्यक्रममा महामहिम राजदूत डा. तामाङ्गले होक्काईडो विश्वविद्यालय नेपाली विद्यार्थी संगठनव्दारा प्रकाशित वाषिर्क मुखपत्र “होकुदाइ बिसौनी’’ को २०६६ सालको नयां अङ्कको लोकार्पण गर्नुभयो । राजदूतावासका सहचारी श्री कृष्ण थापाले स्वागत भाषण गर्नु भएको उक्त कार्यक्रममा नेपाली संस्कृति झल्कने नृत्य सहितको सांस्कृतिक कार्यक्रम लगायत हिमाल आरोहण सम्बन्धी बृत चित्र पनि प्रस्तुत गरिएको थियो । समारोहमा जापान-नेपाल सोसाइटीका अध्यक्ष श्री Arita Kazunori होक्काईडो विश्वविद्यालयका एसोसियट प्रोफेसर डा. पीताम्वर गौतम र गैर आवासीय नेपाली संगठन, होक्काईडो शाखाका अध्यक्ष श्री अर्जुन अधिकारीलाई महामहिम राजदूतज्यूले उहांहरुले जापानमा नेपालको नाम र प्रतिष्ठा बढाउन र नेपालको पर्यटन प्रवर्द्धन गर्न योगदान पुर्याउनु भएवापत धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा नेपाली परिकारसहितको रात्रिभोजको आयोजना गरिएको थियो । होक्काइडो भ्रमणका क्रममा राजदूत डा. तामाङ्गले जुलाई १० का दिन होक्काईडोका साप्पोरोका मेयर महामहिम श्री Fumio Ueda र भाईस गभर्नर महामहिम श्री Kunihiko Yamamota लाई क्रमशः साप्पोरो महानगरपालिका र गभर्नरको कार्यालयमा शिष्टाचार भेट गर्नु भयो । शिष्टाचार भेटका क्रममा महामहिम डा. तामाङ्गले दुई मित्र राष्ट्रका वीचको सम्बन्धलाई जनस्तरमा बृद्धि गर्नु आजको आवश्यकता हो भन्नुभयो । उहांले आफ्नो भ्रमण त्यसै दिशामा एक सार्थक पाइला हो भन्नुभयो । होक्काईडोबाट प्रशस्त जापानीहरु वर्षोनी नेपालको भ्रमणमा जाने गरेका छन् भन्नुहुंदै राजदूत डा.तामाङ्गले नेपाली उत्पादनका सामानहरु चिया, कफी, वीयर, हस्तकलाका सामग्रीहरु र काठ र चांदीका बस्तुहरु, कार्पेट र उनी लत्ताकपडाहरु जापानको बजारमा भित्र्याउनु र लोकप्रिय गराउनु पनि आवश्यक भएको छ भन्ने धारणा व्यक्त गर्नु भयो । साथै सोही दिन सांझ होक्काईडो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु, विभिन्न व्यवसाय गरी वसेका नेपालीहरुलगायत एनआरएन होक्काईडो शाखाका पदाधिकारीसहितको पहलमा एक अन्तर्कृया र रात्रिभोजको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा होक्काईडोका नेपालीहरुले भोगिरहेका विविध अनुभवहरु र सुझावहरु राख्नु भएको थियो । उक्त कार्यक्रममा महामहिम राजदूत डा. तामाङ्गले यी सुझावहरुलाई समाधान गर्ने दिशामा दूतावास प्रयत्नशील रहनेछ भन्ने वचन दिनु भयो साथै दूतावासका वर्तमानका गतिविधिहरुमा प्रकाश पार्नुहुंदै महामहिम राजदूतज्यूले राहदानी र कन्सुलरसम्बन्धी कार्यहरु अविलम्ब सम्पादन गरिने व्यवस्था भएको र जापानका जुनसुकै शहरमा बसेका नेपालीहरुको भावनालाई आत्मसात गरि सहकार्य गर्दै जाने विश्वास दिलाउनु भयो । यसै गरी जुलाई १२ को सांझ गैर आवासीय नेपाली संगठन, होक्काइडो शाखाको सहयोगमा राजदूतावासले होक्काइडोको अर्को प्रसिद्ध सहर आवासिरीमा नेपाल र नेपालीहरुको शुभ चिन्तक जापानी मित्रहरु विच एक अन्तक्रिर्यात्मक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै महामहिम राजदूत डा. तामाङ्गले होक्काइडोका सुन्दर स्वच्छ पहाडहरु, चिसो मौसम, सफा नीलो आकाश र न्यानो आत्मीय आतिथ्यले हामीलाई हाम्रै नेपालमा पुगेजस्तो अनुभूति भइरहेको छ भन्नुभयो । हाम्रा धार्मिक र सांस्कृतिक मूल्य र मान्यता एवं शान्ति र अहिंसाप्रतिको हाम्रा आस्था र विश्वासले नेपाली र जापानी जनतावीचको सम्बन्धलाई सुदृढ आधार प्रदान गरेका छन् भन्नुहुंदै महामहिम नेपाली राजदूतले फुर्सद र बचेको पैसाले संसारका विभिन्न मुलुकहरु घुमिरहने जापानी दाजुभाइ दिदीबहिनीहरुले प्रकृति, संस्कृति र सभ्यताको त्रिवेणीजस्तो अनुपम राष्ट्र नेपाल जहां अतिथिहरुलाई देवतासरह मान र मर्यादा गरिन्छ, पुगेर अध्ययन र अवलोकन गरी शान्ति र आनन्द प्राप्त गर्नु महत्वपूर्ण हुने विचार व्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै होक्काईडोका सांसद श्री Katsuya Tadashi ले नेपाल अव जापानमा नयां र अपरिचित छैन र एकपटक नेपाल पुगेकाहरुले आफू दोस्रो पटक नेपाल जान चाहन्छन् र नपुगेकाहरुलाई नेपाल जान उत्प्रेरित गर्दछन् भन्नुभयो । नेपालमा हिमाल मात्र छैनन् भन्नुहुंदै श्री Tadashi ले त्यहां हिमाली संस्कृति पनि छ , त्यो अध्ययनीय, रोचक र जीवन्त छ भन्ने विचार व्यक्त गर्नु भयो । नेपालमा सुन्दर प्रकृति मात्र होइन, जीवन्त संस्कृति पनि छ भन्नुहुंदै श्री Tadashi ले एशियाली राष्ट्रहरुमा नेपाल एकपटक पुग्नै पर्ने र एकपटक पुगेपछि दोस्रो पटक घुम्नै पर्ने मुलुक हो भन्नुभयो ।उक्त कार्यक्रममा सांसद,उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार लगायत नेपालको भ्रमण गरिसकेका जापानीहरुको उपस्थिति थियो ।
![]() |
| Back |