र्सार्वजनिक सूचना
Posted on: २० मार्च २०१०
नेपाली राजनीतिका शिखर पुरुष, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री गिरिजा प्रसाद कोइरालाको २०६६ चैत्र ७ तदनुसार २० मार्च २०१० मा असामयिक देहावसान भएको खवरले हामी स्तव्ध र दुखित भएका छौं ।
स्वर्गीय कोइरालाको दिवङ्गत आत्माले चीर शान्ति पाओस् भन्ने कामना गर्दै शोकसन्तप्त परिवारमा श्री परमेश्वरले यो असहनीय शोक, दुःख र वियोगलाई सहन गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछौ ।
नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार उहांलाई भूतपूर्व राष्ट्रपति सरहको राजकीय सम्मान दिई अन्त्येष्टि गरिने भएको व्यहोरा अनुरोध गर्दै नेपाली राजदूतावासले २०६६ चैत्र ८, ९ र १० का दिन राष्ट्रिय शोक मनाउने तथा राष्ट्रिय झण्डा आधा झुकाउने तथा तीन दिन सम्म अफिसियल औपचारिक कार्यक्रम आयोजना नहुने व्यहोरा पनि जानकारीका लागि अनुरोध गरिन्छ । २१ मार्च २०१० का दिन राजदूतावास बन्द हुने व्यहोरा पनि अवगतार्थ अनुरोध गरिएको छ ।
स्वर्गीय कोइरालाको निधनमा समवेदना प्रकट गर्न चाहनु हुने नेपाली महानुभावहरुका लागि राजदूतावासले राजदूतावास भवनमा यही ९ र १० चैत्र २०६६ -२२ र २३ मार्च २०१०) का दिन अपरान्ह ३ वजेदेखि ५ वजे सम्म शोकपुस्तिका राखिने भएको व्यहोरा अनुरोध गरिन्छ ।
त्यसैगरी स्वर्गीय कोइरालाको निधनमा श्रद्धान्जली तथा समवेदना प्रकट गर्न चाहनु हुने जापान सरकार, जापानी जनता र जापानस्थित विदेशी राजदूतावास तथा नियोगका प्रमुख एवं प्रतिनिधिहरुका लागि राजदूतावासले यही २२ र २३ मार्च - चैत्र ९ र १०, २०६६) का दिन विहान १०.०० देखि अपरान्ह १.०० वजेसम्म शोकपुस्तिका राखिने भएको व्यहोरा पनि अनुरोध गरिन्छ



Back